४ कात्तिक, सुर्खेत । हिमालको काखमा अवस्थित प्राकृतिक सौन्दर्य, प्राचीन धार्मिक परम्परा र मौलिक संस्कृतिको संगमस्थल डोल्पाको जगदुल्ला पछिल्लो समय कर्णालीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा अवस्थित जगदुल्ला क्षेत्रका ताल र १२ वर्षमा एकपटक लाग्ने प्रसिद्ध ‘बोन मेला’ तथा तीर्थयात्राले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ ।

समुद्री सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको जगदुल्ला ताल यहाँको प्रमुख प्राकृतिक आकर्षण हो । यसका साथै प्रेम ताल र राक्षस तालले समेत यस क्षेत्रको प्राकृतिक तथा धार्मिक महत्व बढाएका छन् ।

एकै क्षेत्रमा रहेका यी तालको विशिष्ट प्राकृतिक बनावट, हिमाली भू–दृश्य र स्थानीय जनविश्वासले जगदुल्लालाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ ।

१२ वर्षमा एकपटक लाग्ने बोन मेला

जगदुल्लाको विशेष पहिचान यहाँ आयोजना हुने १२ वर्षे बोन मेला तथा तीर्थयात्रा हो । प्राचीन धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न हुने यस मेलाले बोन धर्मावलम्बीको आस्था, विश्वास र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए ।

सोमबार धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेलाले लामो समयदेखि प्रतीक्षा गरिएको धार्मिक परम्परालाई पुन: जीवन्त बनाएको छ । दुर्गम हिमाली भूगोल र कठिन यात्राका बाबजुद तीर्थयात्रामा सहभागी हुन विभिन्न क्षेत्रबाट श्रद्धालुहरू जगदुल्ला पुगेका थिए ।

जगदुल्ला गाउँपालिकाका अध्यक्ष रोकायाका अनुसार यस तीर्थयात्रा तथा मेलाले डोल्पासहित समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुन: उजागर गरेको छ । उनका अनुसार यस्तो ऐतिहासिक धार्मिक परम्पराले स्थानीय समुदायको आस्थालाई बलियो बनाउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याएको छ ।

तीन ताल, अनेक धार्मिक विश्वास

जगदुल्ला, प्रेम र राक्षस ताल यस क्षेत्रका प्रमुख प्राकृतिक आकर्षण हुन् । यी तालसँग स्थानीय जनविश्वास, धार्मिक मान्यता र परम्परागत कथनहरू जोडिएका छन् ।

हिमाली भू–भागमा रहेका तालको प्राकृतिक स्वरूप र तिनको धार्मिक महत्त्वले तीर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्ने सम्भावना बढाएको स्थानीय युवा भास्कर बस्नेतले बताए ।

ताल आसपासको विशाल पाटन, हिमाली भूदृश्य र शान्त वातावरणले जगदुल्लालाई प्रकृतिप्रेमीका लागि समेत आकर्षक गन्तव्य बनाएको छ । धार्मिक आस्थाका साथै प्राकृतिक सम्पदाको अवलोकन गर्न चाहनेहरूका लागि यो क्षेत्र विशेष महत्त्वको हुन सक्छ ।

पर्यटन विकासको सम्भावना

धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न भए पनि जगदुल्ला क्षेत्र दुर्गम भूगोल र सीमित पूर्वाधारका कारण अझै व्यापक पर्यटकीय पहुँचमा आउन सकेको छैन । सडक तथा पदमार्ग सुधार, सुरक्षित आवास, सूचना केन्द्र, सरसफाइ र प्रचारप्रसारलाई प्राथमिकता दिन सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्न सक्छ ।

जगदुल्लाको धार्मिक महत्त्व, १२ वर्षे बोन मेला र उच्च हिमाली क्षेत्रमा रहेका ताललाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके स्थानीय रोजगारी तथा आर्थिक गतिविधि विस्तार हुने सम्भावना छ । साथै, कर्णालीको मौलिक संस्कृति र प्राकृतिक सम्पदालाई देश–विदेशमा चिनाउन पनि यसले योगदान पुर्‍याउन सक्छ ।

जगदुल्लाका ताल केवल प्राकृतिक आकर्षण मात्र होइनन्, ती स्थानीय समुदायको आस्था, संस्कृति र पहिचानसँग जोडिएका सम्पदा पनि हुन् । १२ वर्षमा एकपटक लाग्ने बोन मेला तथा तीर्थयात्राले यस क्षेत्रको विशिष्टतालाई थप उजागर गरेको छ ।

संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउन सके जगदुल्ला कर्णालीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।