६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।

यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै लज्जास्पद हार बेहोरेको थियो । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।