६ मंसिर, नयाँ दिल्ली । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् ।
आफ्ना देशको राजकीय भ्रमणमा सरकार र राष्ट्रप्रमुखहरू आउँदा झण्डा फहराउने र स्वागत भव्यता देखाउने त परम्परादेखिकै चलन हो । भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन्द्र शाह भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।
विगतमा प्रधामन्त्रीहरू विदेश भ्रमणमा जाँदा नेपालमा देखिने तामझाम हुने छैन । भारत आउँदा प्रधानमन्त्री बालेनले नेपालको विमानस्थलमा सबै उच्च पदस्थ अधिकारीहरूलाई बिदाइमा बोलाउने छैनन् ।
उनले न्यूयोर्क जाँदा नै यो परम्परा तोडिसके । भारतको यो राजकीय भ्रमणमा पनि उनले त्यहाँ तामझाम नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
यता भारतमा उनको सम्मानमा हुने गार्ड अफ अनर हुनेछ । उनी त्यसमा सहभागी हुनेछन् ।
दिल्लीबाहेक कहिँ जाने छैनन् बालेन, मोदीसँग एकल भेट
प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण निकै छोटो छ । उनी करिब २५ घण्टा मात्र दिल्ली बस्दैछन् । आइतबार दिउँसो सवा ३ बजे दिल्लीमा अवतरण गर्ने उनी सोमबार दिउँसो ४:५० बजे नेपाल फर्किनेछन् ।
विगतका प्रधानमन्त्रीहरूले तीनदिन वा त्यो भन्दा बढीको भ्रमण गर्ने दिल्ली बाहिरका सहरहरूमा परियोजना हेर्ने वा धार्मिक मठ मन्दिर धाउने परम्परा पनि बालेनले तोड्नेछन् ।
उनको भ्रमण तालिका अनुसार उनी दिल्ली बाहेक कहिँ जाने छैनन् ।
प्रधानमन्त्री शाहको सबैभन्दा लामो भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हुने छ । उनले १ घण्टा बढी एकल भेट गर्ने छन् ।
नेपाली र भारतीय उद्योग व्यावसायीहरूसँगको भेट अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा
विगतमा प्रधानमन्त्रीहरूले भ्रमणका बेला भारतमा रहेका नेपाली उद्योगी व्यावसायीहरूसँग छुट्टै भेटघाट र अन्तर्क्रिया गर्थे । तर यसपटक प्रधानमन्त्री शाहले कसैलाई पनि भेट्ने छैनन् ।
नेपाली र भारतीय उद्योग व्यावसायीहरूसँगको भेटका लागि उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई जिम्मा दिएका छन् ।
दुई मन्त्रीहरूले नै दुवै देशका उद्योगी व्यावसायीहरूसँग अन्तर्क्रिया गर्नेछन् ।
नेपाली राजदूतावासमा पनि नजाने
प्रधानमन्त्री शाह नेपाली राजदूतावासमा पनि जाने कार्यक्रम छैन । आइतबार दिउँसो दिल्ली आएलगत्तै उनको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उनी बसेकै ताज होटलमा भेट्ने कार्यतालिका छ ।
विगतमा प्रधानमन्त्रीहरूले विभिन्न मन्त्रालयका मन्त्रीहरूलाई पनि भेट्ने र आपसी संवाद गर्ने गरेका थिए । तर प्रधानमन्त्री शाहले जयशंकर बाहेक अन्य मन्त्रीहरूसँग छलफल गर्ने छैनन् ।
प्रधानमन्त्री शाहले हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग भेटेपछि अयोध्या-जनकपुर रेल उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।
दुवै प्रधानमन्त्रीको छोटो ब्रिफिङ पछि भ्रमणको मूल काम सकिनेछ ।
राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटेर सोमबार प्रधानमन्त्री शाह स्वदेश फर्किने छन् ।
भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी
यो भ्रमणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी छ । यद्यपि कतिसम्मको सम्झौता हुन्छ भन्ने सरकारी अधिकारीहरूले भनिसकेका छैनन् ।
विगतका सहमति र सम्झौताहरूलाई टुंग्याउने गरी एउटा साझा प्रतिबद्धता जनाउने तयारी छ । यो भ्रमणमा क्रिकेटदेखि आईटीसम्मका विषयहरूलाई पनि दुई देशबीच सहकार्य बढाउनेबारे सहमति गर्ने तयारी छ ।
विगतमा भ्रमणमा भएका सहमति र सम्झौताको भाषाको एकरुपता मिलाउनेबारे कुरा नमिल्दा दुवै पक्षको संयुक्त वक्तव्य ननिस्केका उदाहरण पनि छन् । तर यसपटक दुवैले पक्षले नेपाल भारतको संयुक्त भिजन पेपरको रुपमा सार्वजनिक गर्ने तयारी छ ।
बालेन्द्र शाहले प्रधानमन्त्री भएपछि एक वर्षसम्म विदेश नजाने नीति लिएका थिए । तर आफ्नो सुरुवाती नीति बदल्दै उनी आठ महिनापछि भारत भ्रमणका लागि तयार भएका हुन् ।
शाह प्रधानमन्त्री बनेलगत्तै भारतले उनलाई भ्रमणका लागि अनुरोध गरेको थियो । त्यही भ्रमणका लागि भारतले विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाउन लागेको थियो । तर प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै मिश्रीलाई भेट्न नमानेपछि त्यसबेला भ्रमणको प्रक्रिया अघि बढेको थिएन । आठ महिनापछि भने उनी भारत आउन तयार भएका हुन् ।
प्रधानमन्त्री शाह आउनु अघि विभिन्न कार्यक्रम र भारत सरकारकै निमन्त्रणा अनुसार अन्य मन्त्रीहरू भ्रमणमा आइसकेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहकै पार्टी रास्वपा सभापति रवि लामिछाने पनि भारतीय सत्तारुढ पार्टी भाजपाको निमन्त्रणामा भ्रमणमा आएका थिए । उनलाई सत्तारुढ पार्टी भाजपाले निकै ठूलो स्वागत गरेको थियो । त्यही पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि भारतले कुन तहको सत्कार गर्छ भन्ने चासो छ ।
खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।



