४ कात्तिक, काठमाडौं । दसैंमा पाइने दक्षिणाबाटै तपाईंले लगानी गर्ने बानी विकास गर्न सक्नुहुन्छ । दक्षिणालाई नै लगानीको बिउ पूँजी बनाएर भविष्यमा त्यसबाट ठूलो लाभ पाउने अवसर खोजीमा हुनुहुन्छ भने केही विकल्प यहाँ प्रस्तुत छ ।
पहिलो विकल्प : म्युचुअल फन्ड
तपाईंसँग जम्मा १ हजार रुपैयाँ छ भने पनि त्यो रकम म्युचुअल फन्डको इकाइ खरिद गरेर लगानी सुरुवात गर्न सक्नुहुन्छ ।
आजको लगानीले नै भविष्यमा ठूलो सम्पत्ति बनाउँछ । तसर्थ, लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीबाट आउने प्रतिफल, त्यो सम्पत्तिको मूल्य वृद्धिजस्ता पक्षबारे बुझ्न म्युचुअल फन्डबाटै सघाउ पुग्छ ।
म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि, म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबार निर्णय गर्छन् ।
मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीका अनुसार विश्लेषण क्रममा प्राविधिक भन्दा पनि आधारभूत विषयलाई प्राथमिकता दिइने गरिएको छ । केही कम्पनीका सेयर भने म्युचुअल फन्डले पनि कारोबारकै लागि किन्ने गर्छन् । ‘छोटो अवधिको कारोबारका लागि छुट्याइने फन्ड तुलनात्मक कम नै हुन्छ,’ उनले भने ।
प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ हुने म्युचुअल फन्ड कम्तीमा १ सय इकाइ किनेर लगानी सुरुवात गर्न सकिन्छ । हाल बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा पनि म्युचुअल फन्डका इकाइ खरिद गर्न सकिन्छ । घरमै बसेर ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बाट म्युचुअल फन्ड आफैं किन्न सकिन्छ ।
म्युचुअल फन्डका इकाइ बिक्री गरेर जम्मा हुने रकम विभिन्न कम्पनीका सेयर, ऋणपत्र जस्ता धितोपत्रमा लगानी हुन्छ । अर्थात्, म्युचुअल फन्डले संकलन गरेको रकम विविध क्षेत्रमा लगानी गर्छन् । त्यसरी लगानीबाट आएको नाफा इकाइधनीलाई दिन्छन् ।
तसर्थ, म्युचुअल फन्डमा गरेको लगानीबाट बर्सेनि लाभांश पाइन्छ । सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले विगतमा एकै वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।
म्युचुअल फन्ड पनि दुई किसिमका हुन्छन् । बन्दमुखी र खुलामुखी योजना । बन्दमुखी योजना सेयर बजारमा किन्न र बेच्न पाइन्छ । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा) बाट मात्रै कारोबार गर्न मिल्छ ।
बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन । सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) गर्नेले यिनै खुलामुखी योजना खरिद गर्ने हो । एसआईपी अन्तर्गत हरेक महिना वा त्रैमासिक निश्चित रकम भुक्तानी गर्दा योजनाका इकाइ डिम्याट खातामा जम्मा हुँदै जान्छ ।
हाल बजारमा ४५ वटा बन्दमुखी योजना सूचीकृत छन् । अरू डेढ दर्जन खुलामुखी सहित कुल ६३ योजना सञ्चालनमा छन् । म्युचुअल फन्डका योजना थपिँदै गर्दा उनीहरूको कुल सम्पत्ति तथा सेयरमा लगानी पनि बढ्दै गएको छ ।
प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) भन्दा बन्दमुखी योजना १५/२० प्रतिशत छुटमा बजारमा किन्न पाइन्छ । यी बन्दमुखी योजनाको परिपक्व अवधि सकिएपछि न्याभ बराबरकै मूल्य पाइन्छ । साथै, बर्सेनि लाभांश समेत दिने गरेका छन् । म्युचुअल फन्डले यो वर्ष २.५ देखि १५ प्रतिशतसम्म नगद लाभांश दिएका छन् ।
लगानीको अर्को उपयुक्त विकल्प : सेयर
बजारमा २ सय ८० कम्पनीका सेयर सूचीकृत छन् । तीमध्ये आफूलाई मन पर्ने क्षेत्रका केही कम्पनीका सेयर खरिद गर्न सकिन्छ । तर, सेयर खरिद गर्नुअघि कम्पनीले गर्ने काम, आम्दानी तथा वित्तीय अवस्था, कम्पनीका सञ्चालक, कम्पनीले दिने गरेको विगतको लाभांश लगायत पक्ष राम्ररी अध्ययन गर्न आवश्यक छ । यसरी अध्ययनपछि घरमै बसेर सेयर किन्न र नाफा आएका बेला बेचेर नाफा बुक गर्न सकिन्छ ।
विद्युत् उत्पादन गर्ने कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा (जीवन र निर्जीवन) कम्पनी, पुनर्बीमा कम्पनी, सिमेन्ट उत्पादन गर्ने कम्पनी, अन्य उत्पादनमूलक कम्पनी, होटल तथा केबुलकार कम्पनी, नेपाल टेलिकम, नागरिक लगानी कोषजस्ता कम्पनीका सेयरमा पनि लगानी गर्न पाइन्छ ।
उपयुक्त विकल्प राम्रा वाणिज्य बैंक हुन सक्छन् । बर्सेनि लाभांश दिने गरेका वाणिज्य बैंक प्रतिकित्ता सेयर मूल्य साढे २ सय रुपैयाँदेखि किन्न पाइन्छ ।
यदि तपाईंले यसअघि सेयर किनबेच गर्नुभएको छैन भने डिम्याट खाता र ब्रोकरबाट कारोबार खाता खोल्नुपर्छ । त्यसका लागि बैंक खाता पनि खोलेको हुनुपर्छ ।
विभिन्न क्यापिटल तथा ब्रोकर कम्पनी (निक्षेप सदस्य) मा गई डिम्याट खाता खोल्न सकिन्छ भने ब्रोकर कम्पनी मार्फत कारोबार खाता खोल्न सकिन्छ । यसरी कारोबार खाता खोलिसकेपछि तपाईं आफैंले घरमै बसेर टीएसएसबाट सेयर किन्न र बेच्न सक्नुहुन्छ । त्यसरी किनेको सेयर डिम्याट खातामा जम्मा हुन्छ, बेचिसकेपछि डिम्याट खाताबाटै सेयर कटौती हुन्छ ।
तेस्रो विकल्प : सुनचाँदी
सुनचाँदी पनि लगानीको लागि उपयुक्त विकल्प हो । तर, यसमा लगानी गर्नुअघि केही विषय ध्यान दिनुपर्छ । व्यापारीले सुन बेच्दा गहनाका रूपमा मात्रै बेच्छन् । त्यसरी गहना किन्दा ज्याला तथा जर्तीस्वरूप ५ देखि १५ प्रतिशतसम्म महँगो पर्न जान्छ । भोलि गहना बेच्दा यो ज्याला र जर्तीको खर्च प्राप्त हुँदैन ।
अर्को, त्यसरी खरिद गरेको गहना सुरक्षित राख्न बैंक लकर प्रयोग गर्नुपर्ने हुन सक्छ । त्यस्तै चाँदीका हकमा भने ढिक्का वा दाना खरिद गर्न सकिन्छ । यद्यपि त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेभन्दा केही बढी मूल्य व्यापारीले लिने गरेका छन् । त्यसरी खरिद गरेको चाँदी सुरक्षित राख्न पनि लकर नै प्रयोग गर्नुपर्ने हुन्छ ।
बैंक लकरका लागि साइज अनुसार वार्षिक शूल्क न्यूनतम ३ हजारदेखि पर्न आउँछ । त्यस्तै न्यूनतम १० हजार रुपैयाँ बन्धकी राख्नुपर्छ । लकरमा राखिएको सामानमा पनि शतप्रतिशत सुरक्षाको सुनिश्चितता भने हुँदैन । यदि ठूला विपत्ति तथा संकटका कारण लकर नै नष्ट भएको खण्डमा ती सामानको क्षति कसैले बेहोर्दैन ।
अन्य मुलुकमा जस्तो नेपालमा डिजिटल सुनचाँदीको इकाइ खरिद गर्ने र डिजिटल माध्यमबाट सहजै ती इकाइ बेच्ने विकल्प छैन । भारतसहित अन्य मुलुकमा एक्स्चेन्ज ट्रेड फन्ड (ईटीएफ) मार्फत सुनचाँदीका इकाइ डिजिटल रूपमा खरिद गरी डिजिटल रूपमै बेच्न पाइने विकल्प प्रशस्त छन् । यहाँ ती विकल्प नभएकाले सुनचाँदीमा लगानी गर्नुपूर्व त्यसको मूल्य घट्दा हुने जोखिमदेखि सुरक्षासम्मको प्रबन्धमा ध्यान दिनुपर्ने हुन्छ ।



